मुख्य समाचार

संसद भवन छिरेका हत्या आरोपित महतोलाई प्रहरीले भने देखेन

- तुल्सी अर्याल

हत्या–आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले संघीय संसद भवनमै आएर सपथ ग्रहण गर्दा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । उच्च अदालत जनकपुरले महतोविरुद्धको मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यलय महोत्तरीलाई आदेश दिएको थियो । २०७२ भदौ २५ मा मधेश आन्दोलनका बेला सशस्त्रका असई थमन विकको हत्याको आरोप लागेका महतो प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भएका थिए । 

उनी प्रहरीको फरार सूचीमा समेत छन । फरार सूचीमा रहेका महतोले संघीय संसद भवनमा पुगेर सपथ ग्रहण गरेका थिए । तर प्रहरीले भने उनलाई केही गरेन । यस्तै भ्रष्टाचार आरोप लागेका टेकबहादुर गुरुङले पनि संसदमै पुगेर सपथ ग्रहण गरेका थिए । कानूनी प्रक्रिया अनुसार नै अगाडि बढीरहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरिक्षक टेक प्रसाद राईले बताउनुभएको छ । उहाँले भन्नुभयो, “सम्बन्धित उच्च अदालतबाट बल्ल हामीलाई कारबाहीका लागि पत्र आएको छ । हामी यस विषयमा गम्भीर तथा संवेदनशील छौँ । कारबाही प्रक्रिया अब अगााडि बढाउछौँ ।”

यसैबीच हत्या आरोप लागेका कोईरी र भष्टाचार मुद्दा लागेका गुरुङलाई संसदीय गतिविधीमा सहभागी नगराउन नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय संसद सचिवालयलाई पत्र काटेका छन् ।