प्रधानमन्त्री दाहाललाइ २ सय ६८ सासंदले दिए विश्वासको मत
- काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा २ सय ६८ जना सांसदले मत दिएका हुन् ।
विपक्षमा २ मत खसेको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रधानमन्त्री दाहालले मागको विश्वासको प्रस्तावको पक्षमा २६८ मत खसेको घोषणा गर्नुभयो ।
प्रतिनिधिसभामा कुल २ सय ७५ सदस्य रहेकोमा २ सय ७० जना मात्रै उपस्थित थिए । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबराले बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी हुनु भएन ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी बाहेक सबै दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।
संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले संविधानको धारा ७६ (४) को व्यवस्था बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनु भएको हो ।
गत पुस १० मा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गर्नु भएको थियो । प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा रहेका दल नेकपा एमालेका ७९, नेकपा माओवादी केन्ऽका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् ।
संविधानको धारा ७६ (४) ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।