मुख्य समाचार

चीनमा प्रधानमन्त्रीको सम्बोधनः दुई देशबीचको आर्थिक साझेदारीलाई प्रगाढ बनाउँछु

- केएफएम डेस्ककाठमाडौंं

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने बताउनुभएको छ ।

चीनको बेइजिङमा आयोजित ‘नेपाल चीन बिजनेस समिट’मा बोल्दै प्रधानमन्त्री दाहालले दुई देशको सम्वन्धलाई भ्रमणले बलियो बनाउने बताउनुभएको हो । पारस्परिक हितको लागि उच्च र दिगो विकास हासिल गर्न दुई देशका निजी क्षेत्रको बलियो सहकार्य निर्माणमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सो क्रममा उहाँले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । जलविद्युत, पर्यटन उद्योग र सूचना प्रविधि लगानीका आकर्षक क्षेत्र भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ र चीनको विदेश व्यापार प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा बिजनेस समिट भएको हो ।

द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको उद्योग वाणिज्य महासंघले जनाएको छ । यसैबीच, एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भोलि राजनीतिक भेटघाट गर्ने तय भएको छ ।

भोलि विहान चिनियाँ जनकंग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता गरेपछि उहाँले चिनियाँ समकक्षी ली छ्याङसँग द्धिपक्षीय वार्ता गर्नुहुनेछ । भेटवार्ताका क्रममा दुई देशबीच केही सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । त्यसपछि विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासा हुँदै आगामी शनिवार स्वदेश फर्किनुहुनेछ ।