हिन्दू धर्मावलम्बीको महान् चाड बडादसैं आजबाट सुरु
-हिन्दू धर्मावलम्बीको महान् चाड बडादसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।
दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना सहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गरी जौ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशै सुरु हुन्छ ।
घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चित्र नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने जनाएको छ । नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि बिहानै जौ रोप्ने गरिन्छ ।
घटस्थापनाको उपलक्ष्यमा आज काठमाडौको हनुमान ढोका दरबारमा रहेको दशै घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ । आज विधिपूर्वक घर–घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । यस वर्ष वडा दशैंको टीकाको साइत कात्तिक ७ गते ११ बजेर दुई मिनेटमा छ ।