मुख्य समाचार

मान्यजनबाट टीका एवं जमरा लगाएर विजयादशमी मनाइयो

- केएफएम डेस्क

बडादशैंको दशौं दिन आज नवदुर्गाको प्रसादका रुपमा मान्यजनको हातबाट टीका एवं जमरा लगाइएको छ । मान्यजनबाट लगाईने रातो टीकालाई शुभसाईत एवं जमरालाई समृद्धिको प्रतीकका रुपमा ग्रहण गरिन्छ । टीकाका लागि उत्तम साइत बिहान ११ बजेर २ मिनेट भएपनि विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म गरिएको पूजा आराधनाको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनबाट टीका लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाउने प्रचलन छ । आफन्तबाट टाढा रहेकाले भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गर्ने गर्दछन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले सोही समयदेखि विजया दशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।