पछिल्लो अढाई बर्षमा मूलुक कमजोर बन्यो : एमाले अध्यक्ष ओली
-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो अढाई बर्षमा मूलुक कमजोर भएको बताउनु भएको छ । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहांले पछिल्लो अढाई बर्षको अवधिमा मूलुकको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता नै कमजोर भएको बताउनुभयो । अनुचित बिषयले बढी स्थान पाएकाले मूलुकको अवस्था जर्जर बनेको उहांको भनाई थयो ।
पछिल्लो समय वामएकताको विषय उठान भइरहेका बेला उहांले एमालेको नीति खुलस्त स्वीकार गर्ने पार्टीहरुसंग मात्र एकता हुने बताउनुभयो । विगतमा पार्टी एकताका विषयमा अनुभव भइसकेकाले पार्टी कार्यकर्तालाई बैशाखी नखोज्न आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा ओलीले देशको रक्षाका लागि एमाले जस्तोसुकै कदम चाल्न तयार हुने उल्लेख गर्नुभयो ।
एमालेले देशलाई प्रतिगमनतर्फ फर्कन नदिने अध्यक्ष ओलीले बताउनुभयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै उहांले परिवर्तन विरोधी शक्तिको षड्यन्त्र सफल हुन नदिने चर्चा गर्नुभयो ।