मुख्य समाचार

काठमाडौंमा एमाले र व्यवसायि प्रसाईको छुट्टाछुट्टै प्रदर्शन, बल्खु क्षेत्रमा केहिबेर तनाब

- केएफएम डेस्ककाठमाडौं

एमालेका जनवर्गीय संगठन र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले आज काठमाडौंका छुट्टाछुट्टै स्थानमा प्रर्दशन गरेका छन् ।

दुवै समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तय भएकोमा स्थानीय प्रशासनले रोक लगाएपछि उनीहरुले फरक स्थानमा कार्यक्रम गरेका हुन् ।

एमालेका जनवर्गीय संगठनले तिनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए, भने प्रसाईको अगुवाइमा गरिएको प्रदर्शन बल्खु क्षेत्रमा केन्द्रित थियो । एमालेको प्रदर्शन शान्तिपूर्ण भएपनि व्यवसायी प्रसाईले गरेको प्रदर्शन क्षेत्रमा केहीबेर तनाव भएको थियो ।

बल्खुमा एकत्रित भएका प्रदर्शनकारी कालिमाटीतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणका क्रममा केही सेल अश्रुग्यास र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यसपछि प्रदर्शनकारी तितरवितर भएका थिए ।

दुवै समूहको कार्यक्रमलाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । मुख्य मुख्य चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रदर्शन र ¥यालीका कारण गौशाला, चाबहिल, बानेश्वर, बल्खु, कोटेश्वर लगायत क्षेत्रमा सवारी आवागमन प्रभावित भयो । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकामा आज कम सवारी साधन गुडेका थिए ।