मुख्य समाचार

एनसेलको सेयर खरिद–बिक्री छानबिन गर्न ५ सदस्यीय समिति गठन

- केएफएम डेस्क काठमाडौं

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । सिंहदरवारमा बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व–महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्मा अनुसार समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेश कुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

यसैबची एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले एनसेलको सेयर खरिद बिक्री रोक्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतल थप छलफलका लागि दुवै पक्षलाई मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद–बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन सम्बन्धीत पक्षलाई अदालतले आदेश दिएको छ ।