मुख्य समाचार

बरहथवा घटनामा सहमतिपछि प्रदर्शन स्थगित, कर्फ्यु भने कायमै

- केएफएम डेस्क काठमाडौं

सर्लाहीको बरहथवामा भएको घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय–सर्वपक्षीय छलफलपछि मृतक जयशंकर साहको परिवारले शव बुझ्दै प्रदर्शका कार्यक्रम स्थगित गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय शकर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान लगायत बूँदामा सहमति गर्दै प्रदर्शन रोक्ने सहमति भएको हो ।

सरोकारवाला निकाय र पीडित परिवारबीच सहमति भएसँगै शाहको शव पोष्ट मार्टमका लागि सरदमुकाम लगिएको छ । प्रशासनले लगाएको कर्फ्यु आदेश भने कायमै रहने प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो । घटना छानविन गर्न केन्द्र सरकारले ३ सदस्यीय छानविन समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।