राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज
- काठमाडौंआसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।
उम्मेदवारी मनोनयन दर्ता अघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी माग ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
कानूनी व्यवस्था अनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको मतभार २८ हजार चार सय ६२ रहने आयोगले जनाएको छ । आयोगले मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन गरिसकेको छ ।
उम्मेदवारी उपर भोलि मंगलबार दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न भने यही पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ । यस निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।
माथिल्लो सदनका रुपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्ष हुन्छ । अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।