दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाई
- काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री दाहालले नेपाल आफैंले विकास गरेको शान्ति प्रक्रियाको निष्कर्षमा पुगेको बताउनु भएको छ ।
युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न आन्दोलन नाम को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायलाई सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
शान्ति सम्भव रहेको र दृढ विश्वास र इच्छा शक्तिले राष्ट्र र विश्वव्यापी रुपमा रहेका ऐतिहासिक, सामाजिक–सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिने पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
अल्पविकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा अल्पविकसित राष्ट्रहरुलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो¥याउन सहयोगको भावना र भावनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको स्तर बढाउन उहांले आह्वान समेत गर्नुभयो ।
यसैबीच प्रधानमन्त्री दाहालले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्नु भएको छ । युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको उहांको भनाई थियो । मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।
शिखर सम्मेलनमा असंलग्न अभियानमा रहेका विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागी छन् । नेपाल असंलग्न अभियानको पक्ष राष्ट्र समेत हो । प्रधानमन्त्री दाहाल आज नै युगाण्डाका राष्ट्रपति योवेरी कागुता मुसेभेनिले आयोजना गर्ने रात्रीभोजमा समेत सहभागी हुनुहुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । युगाण्डा पुगे लगत्तै प्रधानमन्त्री दाहालले त्यहाँ रहेका नेपाली समुदायसँग समेत साक्षात्कार गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले युगाण्डा भ्रमणका क्रममा विभिन्न देशका सरकार एवं राष्ट्रप्रमुखसंग साइडलाईन भेटवार्ता गर्ने कार्यक्रम छ ।