मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत
-मधेश प्रदेश जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको आज दोस्रो पटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न सक्नु भएन । विश्वासको मतका लागि गरिएको मत बिभाजनमा मुख्यमन्त्री यादवले ५० मत प्राप्त गर्नुभयो भने बिपक्षमा ५३ मत प¥यो । प्रदेश सभामा १ सय ३ जना सांसद उपस्थित थिए ।
मुख्यमन्त्री यादवलाई जसपाको १९, कांग्रेसको २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका छन् । बिपक्षमा भने एमालेका २४, जनमतको १३, माओवादी(केन्द्र)को ९, नेकपा(एस)का ७ र नागरिक उन्मुक्ति पार्टीका १ जनाले मतदान गरेका छन् ।
विश्वासको मतको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री यादवले आफ्नो १७ महिना कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो । उहाँले आफ्नो १७ महिने कार्यकालमा ठूला सबै दलका सांसद मन्त्री बनेको र आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसकेको दाबी गर्नुभयो । उहाँले संघीयता र प्रादेशिक संरचनालाई बलियो बनाउन केन्द्रीय मनोविज्ञानलाई त्यागेर विश्वासको मत दिन सबै सांसदसंग आग्रह गर्नुभएको थियो ।