मुख्य समाचार

जसपाको अध्यक्षमा यादव निर्विरोध

- केएफएम डेस्क

जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको निर्वाचन समितिले औपचारिक घोषणा गरेको हो । यादवले पार्टीको स्थापना कालदेखि नै नेतृत्व गर्दै आउनुभएको छ । 

जनकपुरमा जारी महाधिवेशनमा अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुँदैछ । उम्मेदवारीको अन्तिम सूचि निर्वाचन समितिले सार्वजनिक गरेको छ । समितिका अनुसार सह अध्यक्ष १ पदका लागि तीनजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष ५ पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । यस्तै महासचिव २ पदका लागि ६ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ । उप महासचिव ३ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । २ सय १ सदस्यीय केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशनबाट एक अध्यक्ष, एक सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष केन्द्रीय समितिको अध्यक्षसहित २० पदाधिकारी चयन गर्नेछ । महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागिता छ । २०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा १२ सिट जितेको जसपा नेपालले हालै विभाजनको मार खेपेको थियो । महाधिवेशनको सम्मुखमै अशोक राई पक्षधरले पार्टी विभाजन गरेको हो ।