मुख्य समाचार

संसद्का कर्मचारीको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

तलब भत्ता वृद्धिको माग राख्दै विरोधमा उत्रिएका संघीय संसद्का कर्मचारीको माग सम्बोधनका लागि सरकारले तीन सदस्यीय सहजीकरण समिति गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । 

समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसद्का कर्मचारी विरोधमा उत्रिएका छन् । 

यसअघि कर्मचारीहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक नै प्रभावित भएको थियो ।

आज बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानून मन्त्री गिरी, मुख्य सचिव वैकुण्ठ अर्याल र संघीय संसदका महासचिप पद्मप्रसाद पाण्डे सहभागी हुनुहुन्थ्यो । 

संघीय संसद् सचिवालयका कर्मचारी अतिरिक्त समयमा काम गरेको पारिश्रमिक, तलब भत्ता, आवास भत्ता, शैक्षिक भत्ता वृद्धि लगायत ११ बुँदे माग राख्दै गत जेठ ३० गतेदेखि विरोधमा छन् ।

कर्मचारी विरोध बारे सभामुख देवराज घिमिरेले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग पनि छलफल गर्नु भएको थियो ।