मुख्य समाचार

एसईईमा फेल भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

- केएफएम डेस्क

२०८० सालको एसईईमा दुई भन्दा बढी जतिसुकै विषयमा ननग्रेडेड प्राप्त गरेको भएपनि विद्यार्थीले मौका परीक्षामा सामेल हुन पाउने भएका छन् । हिजो मात्र सार्वजनिक भएको नतिजामा धेरै विद्यार्थी अनुत्तीर्ण भएपछि सो व्यवस्था गर्ने मन्त्रीस्तरीय निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ । 

कक्षा ११ मा भर्ना हुन अस्वीकृत भएका २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीेले अब मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय कक्ष १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले मौका परीक्षाका लागि परीक्षा तालिका पनि परिवर्तन हुने बताउनुभयो । सबै विद्यार्थीले परीक्षा दिने भएपछि अब परीक्षा तालिका पनि नयाँ आउने उहाँको भनाई छ । मन्त्रीको सचिवालयका अनुसार लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्न पाठ्यक्रम विकास केन्द्रलाई आजै परिपत्र गरिएको छ ।