मुख्य समाचार

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने

- केएफएम डेस्क

प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुुहुने भएको छ । संविधानमा कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनै पर्ने बाध्यकारी व्यवस्था छ । कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरिसक्नु भएको छ ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालको ८ जना मन्त्रीले राजीनामा दिएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

दुबै दलबीच सत्तासमीकरणका लागि सहमति भएपनि कडा प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ । कांग्रेस र एमालेकै कतिपय नेताहरुले प्रतिपक्षी कमजोर बनाउने गरी सरकार अघि बढे लोकतन्त्र नै कमजोर हुने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । दाहाल नेतृत्वको माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, एकीकृत समाजवादीको १० गरी प्रधानमन्त्री दाहाललाई ६३ मतको समर्थन रहने देखिएको छ । रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेर अहिलेसम्म सरकारमै सामेल छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमाले मिल्दा १ सय ६७ सीट पुग्छ । तर, दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन चाहिन्छ । प्रतिनिधिसभामा ५ सीट रहेको जसपा नेपाल र ४ सीट रहेको लोसपाले पनि कांग्रेस एमालेको गठबन्धनलाई समर्थन गर्ने बताइसकेका छन् । १४ सांसद रहेको राप्रपा पनि सकारात्मक छ । यस्तै आजै मात्र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई दिएको समथृन फिर्ता लिएको छ ।

यस्तै अन्य साना दलले पनि कांग्रेस एमालेको नयाँगठबन्धनलाई समर्थन गर्ने बताउँदै आएका छन् ।