मुख्य समाचार

बाढीको जोखिमले मार्माका १४ परिवार विस्थापित

- मनोज बडूदार्चुला

दार्चुलाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ वडाका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन् । 

बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोेखिममा परेपछि १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरेर ९२ जनालाई स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले बताउनुभयो । 

तपोवन, मुरै, निम्ठा हुँदै सदरमुकाम जोड्ने सडक बस्ती माथिबाट खन्दा दुवैतिर काटेर थुप्रिएको ढुङ्गा माटो एउटै खोल्सामा थुपार्दा, मार्मा–४ मर्मतीको तल्लो क्षेत्रमा पर्ने फेरेबगर बस्ती बाढी पहिरोको उच्च जोखिममा परेको स्थानीय बताएका छन् । 

मर्मती बस्तीका १४ परिवार विस्थापित हुनुका साथै उर्बर भूमि बगरमा परिणत हुन पुगेको छ । उनका अनुसार उनीहरुलाई मंगलबार नजिकै रहेको हटिनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

सोमबारदेखि परेको अविरल वर्षापछि गन्याड खोलामा आएको बाढीको जोखिम बढेसँगै जीउधनको क्षति नहोस् भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।