मुख्य समाचार

मधेशका मुख्यमन्त्री सिंहलाई काग्रेसले विश्वासको मत दिने

- सन्तोष सिंहधनुषा

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेका छन् । जनमतका मुख्यमन्त्री सिहलाई विश्वासको मत दिने जानकारी आएको नेपाली काग्रेस मधेश प्रदेशका सांसद संजय कुमार महतोले बताउनुभयो । 

मुख्यमन्त्रीलाई विश्वासको मत दिने र अन्य प्राविधिक विषयमा छलफल गर्न जनकपुरस्थित प्रदेश पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्न लागेको सांसद महतोले बताउनुभयो । मधेश प्रदेशमा काग्रेसको २२ जना सदस्य छन् । 

यसअघि शुक्रबार एमाले संसदीय दलको बैठकले जनमतका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशमा एमालेका सभामुखसहित २५ जना सांसद छन् । 

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले मधेशमा जनमत नेतृत्वको सरकार निरन्तरता पाउने र माओवादीले विश्वासको मत दिने बताउनुभयो । 

प्रदेश सभामा शनिबार मुख्यमन्त्री सिहले विश्वासको मत लिने कार्यसूची रहेको छ । कुल १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसदको मत आवश्यक पर्छ । जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । 

प्रदेशसभामा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ सदस्य छन् ।

गत २३ बैशाखमा विभाजन भएको जनता समाजवादी पार्टी नेपालसँग १६ सिट छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सदस्य छन् ।