मुख्य समाचार

त्रिशूलीमा बेपत्ता दुई बस र ३९ यात्रुको अवस्था अझै अज्ञात

- रेडियो कान्तिपुर संवाददाताचितवन

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराईरहेको दुई वटा बस अझै भेटिएको छैन । नेपालको स्रोतसाधनले त्रिशूलीमा हराईरहेको बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको छ । 

गृह मन्त्रालयले गत असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय उद्धार टोली त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि नेपाल आइपुगेको हो । 

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले आजैदेखि काम थाल्नेछ ।

सो बसमा सवार यात्रु मध्ये २३ जनाको मात्र शव फेला परेको छ । चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार दुई वटा बसमा गरी ६५ जना यात्रु सवार थिए । ती मध्ये एउटा बसका तीन जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।

नदीमा हराईरहेको बस त्यसमा सवार यात्रुको खोजी अझै जारी रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भेटिएका मध्ये १५ वटा शव मात्रै दुर्घटनाग्रस्त बसका यात्रीको भएको पुष्टि भएको छ । जसमा ४ जना भारतीय र ११ जना नेपाली छन् । बाँकी ८ वटा शवको सनाखत भएको छैन भने अझै ३९ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुर्घटना भएको समय बित्दै जाँदा शव पत्ता लगाउन र सनाखत गर्न गाह्रो हुने बताउनुभयो । भेटिएका मध्ये एउटा शव नदीमा बेपत्ता बसका यात्रुको भन्ने पक्का भएपनि सनाखतमा समस्या भएको उहाँले जानकारी दिनुभयो । 

शवहरु बगेर त्रिवेणी बाँध, भारतीय क्षेत्रसम्म पुगेको आशंकामा बिहार राज्यको पश्चिम चम्पारण र उत्तर प्रदेशको महाराजगञ्जका जिल्ला अधिकारीसँग पनि समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी यादवले यादवले बताउनुभयो । गोताखोर र पानीभित्र खोजी गर्ने सोनार लगायत उपकरण प्रयोग गरे पनि नदीमा हराएको बसको कुनै अवशेष फेला परेको छैन ।