मुख्य समाचार

एमालेको विवादले बाग्मतीमा समस्या

- सुवास विडारीमकवानपुर

नेकपा एमालेभित्र मन्त्री बन्ने विषयमा विवाद हुँदा बाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुने भएको छ । बहुमत सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपनि एमालेभित्र विवाद हुँदा रोकिएको हो ।

कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख यादव शर्मा समक्ष लामा दाबी पेश गर्न तयार भएपनि एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले आफू काठमाडौं जानुपर्ने बताएपछि रोकिएको एक सांसदले बताए । उनले भने, ‘आज साँझसम्म दाबी गर्ने गरी तयारी गरेका छौं ।’

स्रोतका अनुसार एमालेले नयाँ बन्ने मन्त्रीको सूची संसदीय दलको बैठकमा सार्वजनिक गरेपछि आन्तरिक रुपमा केही समस्या सिर्जना भएको हो । ‘एमाले संसदीय दलको नेता आजै काठमाडौं पुगेर फर्केन भन्नु भएको छ,’ कांग्रेसका एक सांसदले भने, ‘त्यसपछि प्रक्रिया अगाडि बढ्छ ।’ 

प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहान १० बजेका लागि दाबी पेश गर्ने समय लिइएपनि अन्तिम समयमा ‘मिलाएर आउँछौं’ भन्ने जवाफ प्राप्त भएको छ । नयाँ बन्ने मुख्यमन्त्री लामाले एकैपटक सवै मन्त्रीको सपथ ग्रहण गर्ने गरी तयारी अगाडि बढाउन सत्तारुढ दलको छलफलको क्रममा प्रस्ताव राखेका थिए । त्यसपछि दुबै दलले मन्त्रीको सूचीलाई अन्तिम रुप दिएपनि विवाद देखिएको हो । 

दुबै दलबीच आइतबार राति हेटौंडास्थित एक होटलमा बैठक बसेर मन्त्रालयको भागबण्डा भइसकेको बुझिएको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आइतबार दाबी पेश गर्न आहृवान गरेका थिए । 

शर्माले साउन ८ गते साँझ ५ बजेसम्म दाबीका लागि समय तोकेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । 

केन्द्रीय समीकरण अनुसार बाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो । बाग्मतीमा कांग्रेस र एमाले मिल्दा सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेस ३७ र एमाले २७ गरी ६४ सांसद रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त हो ।