मुख्य समाचार

बाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाले दाबी पेस गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेश गर्दै हुनुहुन्छ । गत असार १७ मा केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेसँगै अल्पमतमा परेका बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठन हुन लागेको हो । 

एमालेको समर्थनमा लामाले आज ११ बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताउनुभयो । एमाले संसदीय दलका नेता जग्गनाथ थपलिया लगायत काठमाडौंमा रहेकाले उनीहरु फर्किए लगत्तै मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरिएको चित्रकारले जानकारी दिनुभयो । 

यसअघि हिजो बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भए पनि भागबन्डा र एमालेभित्रको विवादका कारण रोकिएको थियो । प्रदेशका १३ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेको भागमा ६ वटा मन्त्रालय पर्ने गरी भागबन्डा गरिएको छ । 

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिनु भएको थियो । मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले आज अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । 

संघीयता लागू भएयता बाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन हुन लागेको हो । कुल १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पछृ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।