मुख्य समाचार

सौर्य एयरलाइन्सको विमान दुर्घटनाः पाइलटको मेरुदण्डको शल्यक्रिया

काठमाडौं

नवीन कोइराला

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै उद्धार गरिएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौंको सिनामङ्गलस्थित केएमसी अस्पतालमा पु¥याइएको थियो । उद्धार गरिंदा उहाँको अनुहारमा रगत लतपतिएको तस्वीरहरु सार्वजनिक भएको छ । केएमसी अस्पतालका एक अधिकारीका अनुसार क्याप्टेन शाक्यको मेरुदण्डमा गहिरो चोट लागेको देखिएको छ । केहीबेरअघि उहाँको मेरुदण्डको शल्यक्रिया गरिएको ती अधिकारीले जानकारी दिए । क्याप्टेन शाक्यलाई दुर्घटनास्थलमा रहेको कन्टेनरबाट उद्धार गरिएको थियो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार आज विहान ११ बजेर ११ मिनेटमा विमान दुर्घटना भएको थियो । काठमाडौंबाट पोखरा जान लागेको विमान धावनमार्ग उडेलगत्तै दाँयातर्फ मोडिएर पूर्वी क्षेत्रमा दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । सो विमान परीक्षणका लागि पोखरा जान लागेको बताइएको छ । तर त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । यसैबीच मृतकहरुको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मुचुल्का संकलन गरी पोष्टमार्टम शुरु भएको प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनामा जलेका शवको पहिचान गर्न समस्या भएको उहाँले बताउनुभयो । नेपालमा हवाइ यात्रा सुरक्षित नभएको भन्दै आलोचना भइरहँदा काठमाडौं विमानस्थल नजिकै विमान दुर्घटना भएको हो । सौर्य एयरलाइन्सको विमान रनवेबाट उडेको केही क्षणमै दुर्घटनामा परेको बताइन्छ ।