मुग्लिन नजिक नाग्दी खोलामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
- चितवनचितवनको इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक नाग्दी खोलामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । आज बिहान साढे ७ बजेतिर सडकमाथिबाट ढुंगासहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा यातायात सेवा अवरुद्ध बनेको हो ।
मुग्लिन बजारदेखि डेढ किलोमिटर यता कुरिनटारतर्फ पहिरो खसेर बाटो अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय भएर पहिरो हटाउने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
उहाँका अनुसार सडक खुलाउन एक डेढ घण्टा लाग्न सक्छ । लगातारको वर्षाको कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भएकोले पृथ्वीराजमार्ग भएर यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।
यसअघि गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परेर दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीन यात्रु सकुशल र १९ जनाको शव फेला परेर सनाखत भएको छ । करीब तीन साता अघिदेखि त्रिशूली नदीमा हराएको दुई बस र त्यसमा रहेका ४३ जना यात्रुको अवस्था भने अझै अज्ञात छ ।
सिमलताल घटना बारे अध्ययन गर्न गठित कार्यदलले जथाभावी खनिएका ग्रामीण सडकका कारण खसेको लेदोले दुई वटा बस र यात्रु त्रिशूली नदीमा बगाएको निष्कर्षसहितको प्रतिवेदन हिजो गृहमन्त्री रमेश लेखकलाई बुझाएको थियो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा रहेको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा सिमलताल क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको, उचित इन्जिनियरिङ डिजाइन बिना सडक खनिएको, सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक वर्षामा त्यहाँ पहिरो गएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो छेउमा त्यसै फालेको पनि प्रतिवेदनमा उल्लेख छ । खोल्सामा केही वर्ष पहिला बनेका चेकड्याम तथा ग्याबिन बालले पहिरोको दबाब थाम्न नसकेको र बाढीसँगै ठूलो परिणाममा आएको लेदो, गेग्रान र डेब्रिजले सडक पार गर्दै गरेका दुइटा सवारीसाधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको देखिने प्रतिवेदनमा भनिएको छ ।