मुख्य समाचार

हेटौंडा उपमहानगरमा १८ प्रतिशत गर्भवती महिला २० वर्ष मुनिका

- प्रताप विष्टमकवानपुर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र १८ प्रतिशत गर्भवती महिला २० वर्षभन्दा कम उमेरको हुने गरेको देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका स्वास्थ्य ईकाईका अनुसार नगर क्षेत्रमा २० वर्ष मुनिका गर्भवतीको संख्या बढेको हो ।

 गत आर्थिक वर्ष गर्भ परीक्षण गराउने २ हजार ८ सय गर्भवती मध्ये ४ सय २ जना २० वर्ष भन्दा कम उमेरको रहेको पाइएको छ । नगर क्षेत्रमा देखिएको समस्यालाई लिएर हेटौंडा उपमहानगरपालिकाले समाधानका योजना बनाएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाका अनुसार प्रदेश सरकारले बालविवाह रोक्ने योजनालाई सहयोग गर्ने गरी बालविवाह विरुद्ध अभियान सञ्चालन गर्ने, बालविवाह घटाउने संकल्प प्रस्ताव प्रदेश सरकारसमक्ष पेश गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका २२ वटा स्वास्थ्य संस्थामा नियमित गर्भपरीक्षण गराउनेको तथ्यांकको आधारमा २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरु सामाजिक, आर्थिक रुपमा कमजोर अवस्थामा रहेको पाइएको सामाजिक विकास महाशाखाअन्तर्गत स्वास्थ्य इकाईका वरिष्ठ स्वास्थ्यकर्मी भोला चौलागाईले बताउनुभयो ।