मुख्य समाचार

सिमलताल दुर्घटनाको महिना दिन, खोजी अझै जारी

- रमेशकुमार पौडेलचितवन

चितवनको सिमलतालमा पहिरोमा परेर दुई वटा बस र त्यसमा सवार यात्रु त्रिशूली नदीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ । नदीमा हराईरहेका दुई वटा बस र फेला नपरेका यात्रुको खोजी कार्य अझै पनि जारी नै छ । त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरुको टोली आएको थियो । 

साउन १३ मा भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो । नेपाली सुरक्षाकर्मीको टोलीले सोही दिनबाट दोस्रो चरणको खोजी जारी राखेका छन् । चितवन कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालयका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधव पौडेलले दुर्घटनास्थल सिमलताल भन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेको बताउनुभयो । 

‘हामीले दुर्घटनास्थल सिमलताल भन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘११ जनाको टोली यसमा खटेको छ ।’ नारायणगढ आँपटारीमा रहेको सशस्त्र प्रहरीको १७ नम्बर गणमा गोताखोर टोलीलाई तायरी अवस्थामा राखेको एसएसपी पौडेलले बताउनुभयो । 

नवलपरासीको टोलीले नारायणी क्षेत्रको त्रिवेणीसम्म निगरानी गरेको उहाँले जानकारी दिनुभयो । ‘भेल बाढी आएसँगै नदीको धार केही परिवर्तन हुँदो रहेछ’, एसएसपी पौडेलले भन्नुभयो, ‘यस्तो बेला बालुवाको ढिस्को देखिन्छ । बसका केही अवशेष फेला पर्दछन् कि भनेर दुर्घटनास्थल भन्दा केही तल हामीले हेरि रहेका छौं ।’ 

नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा खसेको लेदोसहितको पहिरोमा परी गत असार २८ गते शुक्रबार बिहानपख साढे तीन बजेतिर दुई वटा बस सडकबाट त्रिशूली नदीमा खसेका थिए । दुई बसमध्ये एउटा बसका तीन जना यात्रुले पौडेर ज्यान जोगाएका थिए । दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए ।

खोजीमा क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रबाट २५ वटा शव भेटिएका थिए । दुर्घटनास्थल भन्दा १०७ किलो मिटर तलबाट पनि शव भेटिएका थिए । तर, भेटिएका मध्ये १९ वटा शव मात्रै दुर्घटनामा परेका दुई वटा बसका यात्रु भएको पुष्टि भएको छ । सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छबी रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । 

कार्यदलले साउन २२ गते मंगलबार प्रतिवेदन बुझाएको छ । बसमा कति यात्रु थिए भन्ने विवरण पटक पटक परिवर्तन हुने गरेको छ । घटना भएको दुई दिनपछि गत असार ३० गते आइतबार चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणमा बसमा ६५ जना यात्रु रहेको, तीन जना सकुशल रहेको र अरु यात्रु बससँगै बगेको उल्लेख थियो । अध्ययन कार्यदलको प्रतिवेदनमा बसमा कुल ६२ जना यात्रु रहेको उल्लेख छ ।

दुर्घटनामा परेको मध्ये काठमाडौंबाट गौर जान भरतपुर तर्फ आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बसमा ३६ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बसमा २६ जना करी कुल ६२ जना यात्रु रहेको विवरण अध्ययन कार्यदलको प्रतिवेदनमा छ । यी मध्ये गणपति यातायातको बसका तीन जना यात्रु मात्रै सकुशल रहेका हुन् । 

अध्ययन कार्यदलले नारायणगढ मुग्लिन सडक भन्दा माथि बनेको ग्रामीण सडकका कारण सिँदुरेगैरामा थुप्रिएको लेदो र ग्रेगान पानी परेपछि सडकमा बग्दै आएर बस खसालेको निष्कर्ष निकालेको थियो । ग्रामीण सडक बनाउँदा भरतपुर महानगरपालिकाले समग्र वातावरणीय पक्षमा ध्यान नदिएको, पहिरोले थुनिएको कल्भर्ट सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले पनि ध्यान नदिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी सडकको जोखिमका बारेमा सूचना प्रणाली नहुँदा चालकले जोखिमको आकलन नगरेको, सुरक्षाकर्मीले पनि गाडी रोक्न आवश्यक नठानेको प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त सडकमा रातको समयमा ठूलो वर्षा भइरहँदा गाडी चलाउने चालकले सुरक्षा पहिलो विषय हो भन्ने मुल कुरा ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेको पनि प्रतिवेदनमा लेखिएको छ । 

कार्यदलले राजमार्ग भन्दा माथिबाट जाने सहायक मार्गको ट्रयाक खोल्दा सार्वजनिक सडक ऐन २०३१ मा भएको सडक विभागसँग सहमति लिनुपर्ने विषयलाई कार्यान्वयन गर्न सिफरिस गरेको छ । खोजी तथा उद्धारलाई समय अनुकूल बनाउन विभिन्न औजार, उपकण र आधुनिक प्रविधि उपलब्ध हुनुपर्ने पनि सुझाव दिएको छ ।

वर्षा सकिएपछि नदीहरुको राम्रोसँग नक्साङ्कन गर्न आवश्यक रहेको समितिको सिफारिस छ । दुर्घटनापछि खोजी गर्न भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकहरु प्रविधि सहित आएका थिए । 

साउन ५ मा चितवन आएको भारतीय टोलीले भोलिपल्टबाट खोजी सुरु गरेको थियो । तर, केही पत्ता नलागेपछि साउन १३ मा भारतीय टोली फिर्ता हुँदा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दोस्रो चरणको खोजी अर्को निर्णय नहुँदासम्म जारी रहने बताउनु भएको थियो ।