लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
- बुटवललुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभाका ११ मध्ये ७ दलका गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।
विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजेका बोलाइएको छ । केन्द्रमा नेकपा एमाले र कांग्रेसको सत्ता समीकरण बनेपछि गत साउन ७ गते आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
आचार्यलाई एमाले, कांग्रेस, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, जनमत, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल पार्टी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका हुन् ।
प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन एमाले र कांग्रेसले ह्वीप जारी गरिसकेका छन् । त्यस्तै लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे, जनमतका चन्द्रकेश गुप्ता, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र जसपाका भण्डारीलाल अहिरले पनि सरकारलाई विश्वासको मत दिने बताउनु भएको छ । माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वास मतको विपक्षमा उभिने बताएका छन् ।
राप्रपा तटस्थ बसेपछि लुम्बिनी प्रदेश सभामा १२ जना प्रदेश सभा सदस्य प्रतिपक्ष बेन्चमा बस्ने भएका छन् । लुम्बिनी प्रदेश सभामा माओवादीका सभामुखसहित ११, समाजवादी र जनमोर्चाका एक÷एक सदस्य छन् । मुख्यमन्त्री आचार्यले १२ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी गर्नु भएको छ ।
यसअघि नै एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति गरेका थिए । कांग्रेसले एकमन्त्री सिफारिस गर्न बाँकी छ । बाँकी २ मन्त्रालयमा जसपा, नागरिक उन्मुक्ति र लोसपा मध्येबाट दुई दललाई सरकारमा सहभागी गराउने एमाले र कांग्रेसले सहमति गरेका थिए । सत्ता साझेदार मुख्यदल एमाले र कांग्रेसबीच मन्त्रालयसहित अन्य नियुक्तिमा पनि आधा-आधा भागबण्डा गर्ने आन्तरिक सहमति छ ।