मुख्य समाचार

खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी सुनकोशी नदीमा खस्यो, ३ जना बेपत्ता

- राजकुमार कार्कीसिन्धुली

खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको हाइलक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुँडुले नजिकबाट सुनकोसी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

एक जना भने हामफालेर सकुशल रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चार मध्ये तीन यात्रु भने वेपत्ता छन् । हामफालेर बाँच्न सफल भएका भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाइ जानकारी दिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । सुनकोसी नदीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका ३२ वर्षीय चालक अविन बडे, सोही स्थानका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् ।

सुनकोसीको वहाव बढी रहेकाले बेपत्ताको खोजीका लागी गोताखोरलाइ सम्पर्क गरि परिचालनको तयारी भैरहेको सिन्धुली प्रहरीका प्रमख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।