मुख्य समाचार

चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जना सप्तरीबाट पक्राउ

- अवधेशकुमार झासप्तरी

जंगली जनावरको चोरीसिकारमा संलग्न भएको आरोपमा सप्तरीमा नेपाल प्रहरीका पूर्वडीआइजी र बहालवाला सईसहित १० जना पक्राउ परेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरुलाई गएराति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरी स्रोतले जनाएको छ ।

यस्तै हनुमाननगर कंकालिनीका आकाश यादव, लक्ष्मण मण्डल, जर्नादन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मण्डल, शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ । इटहरीका प्रदीप लिम्बु, राजविराजका रविन दासलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल १, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर लगायत सामाग्री बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको ट्रयाक्टर र अर्को एउटा गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।