मुख्य समाचार

नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला खुल्यो

- दुर्गालाल केसीदाङ

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला झण्डै २ महिनापछि खुलेको छ । विश्वविद्यालयले गठन गरेको वार्ता समितिसँग तीन दिन छलफलपछि माग सम्बोधन गर्न एक अध्ययन समिति गठन गर्ने सहमतिपछि विश्वविद्यालयमा लगाइएको ताला हिजो खोलिएको हो । 

प्राध्यापकहरुले पेशागत माग राखी गत असार ३१ देखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आंशिक प्राध्यापकलाई करार प्रक्रिया अघि बढाउने सहमतिपछि ताला खोलेको नेपाल संस्कृत विश्वविद्यालय आंशिक प्राध्यापक संघर्ष समितिले जनाएको छ । 

समितिका अध्यक्ष नवराज ढुंगाना र सचिव शेर बहादुर भाटले प्रेस विज्ञप्ति जारी गरी ताला खोलेको जानकारी गराउनु भएको हो । विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनले तीन महिनादेखि लगाएको ताला भने खुल्न बाँकी छ । 

विद्यार्थी संगठनसँग वार्ता भईरहेको र अब एक साताभित्र सबै ताला खोल्ने गरी गृहकार्य थालिएको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक योगराज शर्माले बताउनुभयो । 

तीन महिनासम्म ताला नखुलेपछि उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाले गत बुधबार लिखित रुपमा सार्वजनिक आह्वान जारी गर्दै ताला खोल्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नु भएको थियो । 

विश्वविद्यालयको केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्णरुपमा प्रभावित भएको भन्दै खतिवडाले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठन, स्ववियू लगायत सरोकारवाला पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गर्नु भएको थियो । 

तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न नपाएको खतिवडाले बताउनुभयो ।

समितिले जग्गा सम्बन्धी विश्वविद्यालयका अभिलेख अध्ययन गर्न नपाएको र बन्दका कारण सरकारले नै महत्व दिएको जग्गा व्यवस्थापनको जरुरी काम अलपत्र परेको उहाँको भनाई छ ।