मुख्य समाचार

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदै

- रेडियो कान्तिपुर संवाददातारेडियो

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदैछ । यो जात्रा भाद्र शुक्ल द्वादशीका दिनदेखि सुरु हुन्छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । 

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको प्रचलन छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत ठाउँमा धुमधामसाथ इन्द्रजात्रा मनाउने चलन छ । 

यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ । इन्द्रजात्रामा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ ।