मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
- काठमाडौंनिर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।
७ प्रदेशका गरी विभिन्न स्थानीय तहका ३९ स्थानमा रिक्त पदका लागि निर्वाचन गर्न लागिएको हो । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।
आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा काठमाडौंको किर्तिपुर नगरपालिकाको प्रमुख पदसहित रिक्त स्थानमा निर्वाचनका लागि प्रस्ताव गरिएको छ । आयोगको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावबमोजिम उपनिर्वाचनका लागि सरकार तयार रहेको भन्दै गृहकार्य अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तोक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारले यथासक्य छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको थियो ।
छलफलपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरिएको बताउनुभयो ।