मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आजदेखि

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला आज सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको बिहान ११ बजे उद्घाटन हुने रास्वपाले जनाएको छ । 

केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलामा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । 

विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदन लगायत दस्तावेज पेश हुने उहाँले बताउनुभयो ।

भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ । 

 गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र बैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो ।