मुख्य समाचार

संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

संविधान दिवस २०८१ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीयता सहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । 

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवस सम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सहभागी हुने कार्यक्रम छ । सो अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । 

आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ । संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नु भएको थियो । 

संविधान निर्माण भएर कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ । यो जनप्रतिनिधिले नै बनाएको नेपालको पहिलो संविधान हो । संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई मौलिक मानिन्छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रुपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो । 

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायत नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । 

‘नेपालको संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक स्तरबाट ‘नेश्नल डे कन्सर्ट’को समेत आयोजन गरिँदैछ ।