मुख्य समाचार

सहकारी ठगी प्रकरणः छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछाने दवावमा

- दिपशीखा रेग्मी काठमाडौं

सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेसँगै सो मिडियाका तत्कालीन प्रवन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दवाव बढेको छ । जोशी पक्राउ परेलगत्तै लामिछानेसहित सो पार्टीका नेताहरुको अभिव्यक्ति र सार्वजनिक रुपमा भइरहेको बहसले समग्र पार्टीलाई अप्ठ्यारो पार्न सक्ने विश्लेषण भइरहेका छन् । यता, रास्वपा नेताहरुले भने सभापति लामिछानेमाथि षड्यन्त्र गर्न लागिएको भन्दै त्यसको प्रतिवादन गर्ने चेतावनीयुक्त अभिव्यक्ति दिएका छन् ।

गत आइतबार गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेलगत्तै रास्वपाका सभापति रवि लामिछाने सोही दिन साँझपख वनस्थलीस्थित पार्टी कार्यालयमा पुगे । उनलाई पक्राउ गर्न सकिने चर्चाले राष्ट्रिय राजनीति र सामाजिक वृत्तमा हलचल नै पैदा गरेको थियो । सहकारीको रकम अपचलन सम्वन्धि संसदीय छानविन समितिको प्रतिवेदन कार्यन्वयनमा सरकारले तदारुकता दिएलगत्तै जोशी पक्राउ परेका थिए । संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक समिति सदस्य जोशीसहित चार जनालाई प्रचलित कानून अनुसार कारबाही सिफारिस गरेको छ ।

 उक्त सिफारिससहितको प्रतिवेदन कार्यन्वयनमा गर्ने गृहमन्त्री रमेश लेखकको प्रतिवद्धतापछि गोर्खा मिडियाका आफ्ना साझेदार पक्राउ परेपछि रास्वपा सभापति लामिछानेमाथि समेत कारवाही प्रक्रिया अघि बढ्ने ठानिएको छ । तर लामिछानेले भने गोर्खा मिडियामा सहकारीबाट पैसा ल्याउने प्रक्रियामा आफ्नो कुनै भूमिका नभएको र कार्यालयको व्यवस्थापन प्रयोजनका लागी भएको कारोवार र खर्चप्रति जिम्मेवारी लिन तयार भएको अभिव्यक्ति दिएका छन् । यस्तैमा मंगलबार साँझ उनले तत्कालिन सञ्चालक जोशीलाई समातेर सरकारले आफूविरुद्ध बयान दिन लगाई पक्राउ गर्न सक्ने आशंका गरेका थिए ।

फेसबुकमार्फत् लामिछानेले दिएको अभिव्यक्तिपछि अहिले उनी पक्षधर र आलोचकबीच पक्ष–विपक्षमा चर्को बहस भइरहेका छन् । त्यस्तै उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू बिहिवार नेपाल फर्किएका छन् । नेपाल फर्किएलगतै सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरुले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताउदै संस्था माथि प्रहार भएको टिप्णी गरे ।

त्यस्तै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको बताएका छन् । सहकारीमा सभापतिले आफैँ व्यक्तिगत रूपमा संलग्न भएर रकम लिएको छैन भनेर प्रतिवेदनले स्पष्ट पारिसकेको उनको भनाई छ । सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै उनले आपत्तिसमेत जनाए ।

१० दिनको भ्रमणलाई छोट्याएर रास्वपाका नेताहरु चीनबाट फर्किएका हुन् । जोशी पक्राउ परेपछि कारवाही प्रक्रिया रास्वपाका सभापति लामिछानेतर्फ मोडिने संकेतहरु देखा परेका छन् । र, सार्वजनिक वृत्तको बहसले लामिछानेमाथि राजनीतिक र नैतिक दवाव थपिएको देखिन्छ । सहकारी ठगीको सन्दर्भमा संसदीय छानविन समितिको प्रतिवेदन र त्यसपछिका घटनाक्रमले समग्र रास्वपालाई पर्ने प्रभाव बहसको एउटा बिषय भएको छ । राजनीतिक विश्लेषक केशव दाहालको भनाई छ ।

आफू पक्राउ पर्न सक्ने देखिएपछि लामिछानेले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई सम्वोधन गर्दै केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए–न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू, फर्केर आउनुस, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्नँ ।” उनको यो अभिव्यक्तिलाई कतिपयले सहकारी ठगीमा आफ्नो संलग्नतालाई बिषयान्तर गर्ने अर्थमा टिप्पणी गरेका छन् भने कतिपयले स्वभाविक प्रतिक्रिया भनेका छन् ।