मुख्य समाचार

दशैं तिहार र छठका लागि काठमाडौंमा ३ हजार ७ सय प्रहरी परिचालन हुने

- केएफएम डेस्ककाठमाडौं

जिल्ला प्रहरी परिसर काठमाडौंले दशैं तिहारमा हुन सक्ने आपराधिक गतिविधि रोक्न ३ हजार ७ सय ६५ जना प्रहरी परिचालन गर्ने भएको छ ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधहरु न्यूनीकरण गर्न सो संख्यामा प्रहरी परिचालन गर्ने तायारीसहितको सुरक्षा कार्यक्रम प्रहरीले आज सार्वजनिक गरेको हो । कुनैपनि घटना भएको १० मिनेट भित्र उपस्थित हुन सक्ने संयन्त्र सहितको तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नागरिकको सुरक्षाका लागि भिडभाड हुने स्थानमा ड्रोन मार्फत सुरक्षा व्यवस्थाको निगरानी गर्ने तथा जिल्ला भित्रका विभिन्न ३५ स्थानमा समुदाय प्रहरी सझेदारी कार्यक्रम सञ्चालन गर्ने प्रहरीको तयारी छ । यस्तै १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने काठमाडौं भित्रिने नाकाहरुमा तालिमप्राप्त कुकुरको सहायतामा जाँच गर्ने व्यवस्था मिलाइने प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

प्रहरीले हुनसक्ने सम्भावित अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, सवारी दुर्घटना, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, तस्करी, जुवातास, चिट्ठाको प्रलोभनमा ठगी जस्ता , कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दालाई लिएको छ ।

सम्भावित अपराध न्यूनीकरण गर्न डीएसपीको कमाण्डमा १० जनाको टोली रहने गरि १४ स्थानमा प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।