मुख्य समाचार

बाढी पहिरोबाट ५३ जनाको मृत्यु, कयौं वेपत्ता, बागमति प्रदेश बढी प्रभावित

काठमाडौं

बाढी पहिरोका कारण बागमति प्रदेशसहित विभिन्न जिल्लामा गरी पछिल्लो विवरण अनुसार, ५३ जनाको मृत्यु भएको छ । बागमति प्रदेश अन्तर्गत काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धुपाल्चोकमा २, दोलखामा तीन तथा सिन्धुली र धादिङमा १–१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाँचथरमा ५, धनकुटामा २ र झापामा एक जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीहरुले जनाएका छन् । काठमाडौंमा बाढी र पहिरोमा परेका ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढीबाट प्रभावित ९ सय जना भन्दा बढीको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिनुभयो । बाढी र डुबानबाट प्रभावितलाई उद्धार गर्नझन्डै ५ हजार सुरक्षाकर्मी उपत्यकाका विभिन्न स्थानमा परिचालन गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । ललितपुरको नख्खु क्षेत्रमा डुबान परेका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । त्यस्तै, बाढीले गर्दा टिनाको टहरासहित बगेका चार जनामध्ये दुई जनालाई स्थानीय बासिन्दाले पौडिएर उद्धार गरेका छन् भने एक जना पौडिएर बाहिर निस्किएका थिए । एक बालिका भने वेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, धनकुटामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाख्रीबास नगरपालिका–५ गुराँसेदेवीथान पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ । स्थानीय आशा तामाङ र उनकी आमा रामकुमारी तामाङलाई पहिरोले पुर्दा मृत्यु भएको हो । उता, पॉचथरमा बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पॉचथरका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीका अनुसार पहिरोमा परी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोल्मा शेर्पा, ८२ वर्षीया पश्चिमा शेर्पा,३५ वर्षीया रञ्जना राई र ५० वर्षीय गोपी नेपालीको मृत्यु भएको हो । स्थानीय बालक विपन राईलाई घाइते अवस्थामा उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय पॉचथरले जनाएको छ ।

बाढी पहिरोबाट काभ्रेमा ११ जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवर्क्सको विद्युत् सञ्चालन गृह पहिरोले पुरेपछि नेपाली सेनाका २ जनासहित ४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । उता, पाँचथरमा पहिरोमा चारजना हराइरहेका छन् भने एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको छ ।