मुख्य समाचार

धादिङको झ्याप्लेखोलाको पहिरोमा पुरिएका २ बसबाट १४ जनाको शव निकालियो

- केएफएम डेस्ककाठमाडौं

पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी आज साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताउनुभयो ।

उहाँका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको रजौरेले बताउनुभयो ।

यस्तै, पहिरोमा परी वेपत्ता भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको शव भेटिएको छ । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरोमा उनीहरु पुरिएको स्थानमा खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इन्द्रसरोबर गाउँपालिका–३ मा एन्फाले राखेको युथ–१४ क्याम्पका ३७ जना खेलाडीमध्ये अनुप घलान, आदित्य वलम्पाकी, रियान्स आचार्य, सुमन योञ्जन, विकल रेग्मी र दिवस बानियाँ पहिरोमा पुरिएका थिए । शव भेटिएपनि पहिचान हुन सकेको छैन ।

बाढी पहिरोबाट काभ्रेमा ११ र धादिङमा ३ जना बेपत्ता भएका छन् । त्यस्तै, दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा पहिरोले पुरेपछि नेपाली सेनाका २ जनासहित ४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । उता, पाँचथरमा पहिरोमा चारजना हराइरहेका छन् भने एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको छ ।