मुख्य समाचार

बाग्मती प्रदेशका १० जिल्लामा सबैभन्दा बढी बालबालिका, महिला, र ज्येष्ठ नागरिक हराउने समस्या

- दिपशीखा रेग्मी काठमाडौं

बाग्मती प्रदेशमा प्रहरीको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लामा गत आर्थिक वर्षमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी १ हजार ३ सय ४५ जना बेपत्ता भएका थिए । हराएका मध्ये १ हजार १ सय ६५ जना फेला परेका छन् भने १ सय ८० जना अझै बेपत्ताकै सुचिमा रहेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा बाग्मती प्रदेशको मकवानपुरमा ८४ बालिका र १ सय ७० जना महिला बेपत्ता भएका थिए भने १९ जना बालक र १७ जना जेष्ठ नागरिक हराएको तथ्याङ्क छ । बेपत्ता भएका ८४ जना बालिकाहरुमध्ये ७८ जना फेला परेको र ६ जना अझै बेपत्ताकै सुचिमा छन् । त्यस्तै १ सय ७० जना महिलामध्ये १ सय ३४ जना प्रहरीको सम्पर्कमा आएका छन् भने ३६ जना अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

त्यस्तै १९ जना बालक हराएकोमा १८ जना फेला परीसकेको र १ जना अझै बेपत्ता छन् । ज्येष्ठ नागरिकको हकमा १४ जनामात्र फेला परेका छन् । त्यसैगरी चितवनमा पनि आर्थिक वर्ष ०८०÷०८१ मा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ३ सय ६५ जना हराएको प्रहरीमा निवेदन परेको थियो । तीमध्ये ३ सय २३ जना फेला परका छन् तर ४२ जना भने अझै भेटिन नसकेको सरकारी तथ्यांकले देखाएको छ ।

 त्यस्तै रसुवामा गत आर्थिक वर्षमा महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित २२ जना बेपत्ता भएकोमा १६ जना फेला परेका छन् भने ६ जना अझै बेपत्ताकै सुचिमा रहेको प्रहरीले प्रदेश कार्यलय हेटौडाको तथ्यांकले देखाएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालयका डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार नेपालमा विपद्धका घटनाहरु भएको समयमा सबैभन्दा धेरै मानिस बेपत्ता हने गरेका छन् । बेपत्ता भएका मानिसहरुको पछिल्लो अनुहार झल्किने तस्विरहरु प्रदेशका विभिन्न युनिटहरुमा पठाएर उनीहरुको खोजीमा लाग्ने गरेको डिएसपी बस्नेतको भनाई छ ।

यता धादिङमा गत आर्थिक वर्षको तथ्यांक हेर्दा ७१ जना हराएकोमा ५३ जना भेटिएका छन् भने १८ जना अझै फेला परेका छैनन् । वाग्मती प्रदेश प्रहरीका कार्यालयका अनुसार नुवाकोटमा गत वर्ष १ सय २५ जना हराएकोमा १ सय ११ जना फेला परेका छन् । १४ जना अझै नभेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी काभ्रेमा १ सय ५० जना हराएकोमा १ सय ३५ जना फेला परे भने, १५ जना सम्पर्कविहीन छन् । उता सिन्धुलीमा १ सय २१ जना बेपत्ता भएकोमा १ सय १५ जना फेला परे तर ६ जना अझैपनि बेपत्ता छन् । दोलखामा ६२ जना हराएकोमा ५२ जना फेला परे भने १० जना अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

 यस्तै रामेछापमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ४२ जना हराएकोमा ३२ जना फेला परेका छन् भने १० जना अझै भेटिएकाछैनन् । त्यस्तै सिन्धुपाल्चोकमा ९७ जना हराएकोमा ८६ जना फेला परे भने ११ जना बेपत्ता नै छन् । यसरी हेर्दा बागमति प्रदेश अन्तर्गत काठमाडौं उपत्यका बाहिरका १० जिल्लामा गत आर्थिक वर्षमा ७ सय ६७ जना महिला हराएका थिए, तीमध्ये ६ सय ४७ जना फेला परे भने १ सय २१ जना अझै बेपत्ता छन् । त्यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा ३ सय ८५ बालिका हराएकामा ३ सय ५५ जना फेला परेका छन् भने ३० जना अझै हराइरहेका छन् ।

१ सय २० जना बालक हराएकोमा १ सय ६ जना फेला परेका छन् भने १४ जना सम्पर्कविहीन छन् । ७३ जना ज्येष्ठ नागरिक हराएकोमा ५८ जना फेला परेका छन् भने १५ जना अझै बेपत्ता छन् । वेपत्ता व्यक्तिको खोजीका लागि जिल्लास्थित प्रहरी कार्यालयसँग समन्वय गरी पहल भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरीक बेपत्ता हुनुमा पारिवारीक सम्बन्ध र वातावरण राम्रो नहुनुलाई कारण मानिएको छ । बाबुआमाबीचको बेमेल र सम्बन्ध बिच्छेद जस्ता घटनाका कारण समेत बालबालिका घर छाडेर हिँड्ने गरेको पाइएको छ । त्यसैगरी बालिका हराउनुमा सानै उमेरमा विवाह गरेर भाग्ने प्रवृत्तिलाई एउटा कारण मानिएको छ ।

प्रहरी कार्यालयको सूचीमा बेपत्ता भनिएकाहरू घरमा आइसकेपनि प्रहरीलाई जानकारी नदिएका कारण हराउनेको संख्या धेरै भएको हुनसक्ने महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको भनाई छ । महिला, बालबालिका तथा जेष्ठ नागरीक बेपत्ताभएको खवर पाउनासाथ प्रहरीसँग समन्य गरेर खोजिको पहल गर्ने र भेटिएका मानिसहरुलाई पुर्नमिलनको काम गरीरहेको मन्त्रालयका सुचना अधिकारी केशव प्रसाद उपाध्यायले बताए ।

पारिवारिक समस्याले वाध्यतावश घर छाडेर हिँडेका कतिपय बालबालिका पछिल्लो समय घरेलु कामदार, होटल रेस्टुरेन्ट तथा गाडीमा सहचालक लगायत कार्यमा लाग्ने गरेको बताइन्छ । यसरी व्यक्ति हराउने र वेपत्ता हुने प्रवृत्ति रोकथामका लागि परिवारबाटै पहल हुन आवश्यक देखिएको कतिपयको बुझाई छ ।