मुख्य समाचार

बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता हुने

- केएफएम डेस्ककाठमाडौं

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता लिने रिट निवेदक सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले बताउनुभएको छ ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार घिमिरेको प्रतिवेदनका आधारमा बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि बढेको छ ।

मुद्दाको पहिलो पेसी कात्तिक १ का लागि तोकिएको छ । यद्यपी, निवेदक घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत् सो प्रतिवेदन फिर्ता लिने घोषणा गर्नुभएको हो । उहाँले आफूमाथि दबाब आएको संकेत गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिने जनाउनुभएको छ । घिमिरेले अदालतमा चाडपर्वको विदा भएकाले खुला भएपछि औपचारिक रुपमा अवहेलना मुद्दा फिर्ताका लागि निवेदन दिने बताउनुभएको छ ।

उपरजिष्ट्रार घिमिरेले नै बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार बनाउनुभएको थियो । सर्वोच्च अदालत प्रशासनले गत असोज १४ मा बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको थियो ।

न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई लक्षित गर्दै बारका अध्यक्ष घिमिरेले अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको सर्वोच्च प्रशासनको जिकिर थियो ।