मुख्य समाचार

बाढी पहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

अघिल्लो साता आएको बाढी पहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार प्राकृतिक प्रकोपका कारण १९ जना अझै बेपत्ता छन् । 

अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको उहाँको भनाई छ । 

साथै सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको पनि मन्त्रालयका प्रवक्ता तिवारीले बताउनुभयो । 

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न भागमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो । सयौं परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ ।