मुख्य समाचार

उद्धार र राहतलाई तीब्रता दिन सरकारलाई माओवादीको ध्यानाकर्षण

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेकपा माओवादी केन्द्रले विपद् पीडितको उद्धार, राहत र पुर्नस्थापनाको कामलाई तीब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । 

विपद् व्यवस्थापनका लागि तत्काल र दीर्घकालिन रुपमा विभिन्न नीतिगत काम गर्नुपर्ने उल्लेख गर्दै माओवादी केन्द्रले जनतालाई कम भन्दा कम पीडाको अनुभूति हुने स्थिति बनाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

बेपत्ताको खोजी, उद्धार र घाइतेको निशुल्क तथा प्रभावकारी उपचारमा जोड दिइनुपर्ने, अति उच्च समस्यामा परेका महिला, बालबालिका, गर्भवती लगायतलाई विशेष सुरक्षा, उपचार तथा सहयोग गर्नुपर्ने, अवरुद्ध राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मर्मतको कार्यमा तीब्रता दिनुपर्ने लगायत काम तत्काल गर्न सरकारलाई सुझाव दिएको छ । 

उद्धार र राहतको पर्खाइमा रहेका प्रभावित जनतामा प्रकोपपछि स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या बढ्दै गइरहेको र महिला, बालबालिका र जेष्ठ नागरिक स्वास्थ्य सुरक्षाको जोखिममा रहेको माओवादी केन्द्रको भनाइ छ ।

भूकम्प तथा मिश्रित विपत्तिको जोखिमका सन्दर्भमा नेपाल एसियामा ११ औं र विश्वमा १६ औं स्थानमा रहेको जनाउँदै माओवादी केन्द्रले सरकारका तर्फबाट विपद्पूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारी नभएको ध्यानाकर्षणमा उल्लेख गरेको छ । 

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै माओवादी केन्द्रका पदाधिकारीले सरकारको ध्यानकर्षण गराएको हो । सो क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीति बनाउँदा गम्भीर हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याका रुपमा साझा समाधान निकाल्नुपर्ने बताउनुभएको छ । उहाँले उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो ।