मुख्य समाचार

धौलागिरीमा सम्पर्कविहीन भएका आरोही अनुभवी छन्ः कम्पनी व्यवस्थापक

- केएफएम डेस्ककाठमाडौं

धौलागिरी हिमाल आरोहणमा गएका ५ जना रुसी आरोही सम्पर्कविहीन भएका छन् ।

आरोहणका लागि गएकामध्ये दुई जना शनिवार धौलागिरी हिमाल चढेर वेशक्यापमा फर्किएपनि ५ जना भने सम्पर्कमा नरहेको बताइएको छ । आरोहण दलको व्यवस्थापन गरिरहेको कम्पनीका अनुसार उनीहरु क्याम्पमा फर्किएका छैनन् भने रेडियो सेटमा समेत सम्पर्क हुन सकिरहेको छैन ।

आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसनका म्यानेजिङ डाइरेक्टर पेमा जाङ्बु शेर्पाका अनुसार उनीहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । उनीहरु पाँचै जना अनुभवी आरोही भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेकोे शेर्पाले बताउनुभयो । उनीहरुले यसअघि मनास्लु हिमालको आरोहण गरिसकेका छन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले ५ जना आरोहीको सम्पर्क गर्ने उपकरणमा सम्पर्क हुन नसकेको बताउनुभयो । सोबारे आरोहण दलको व्यवस्थापक पक्षसँग आफूले सोधपुछ गर्दा समस्या नरहेको विवरण पाएको गुरुङले जानकारी दिनुभयो ।