मुख्य समाचार

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । सो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्दछ । 

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । 

तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने दरबार हेरचाह अड्डाले जनाएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ वटा बोका र ५४ वटा राँगाको बलि समेत दिइन्छ । 

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।