मुख्य समाचार

बेलायतमा सम्पन्न गस्ती अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । विभिन्न ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहेको सो अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । 

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ’क्याम्ब्रियन गस्ती अभ्यास २०२४’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो । 

सन् १९६० बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ । 

दुई दिनभित्रमा हतियार तथा करीब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइँको तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायत दक्षताको परीक्षण गरिन्छ । 

नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपककुमार बानियाँ सम्मानित अतिथिको रुपमा सहभागी रहेको सेनाले जनाएको छ ।