मुख्य समाचार

डडेलधुरामा बस दुर्घटना, एक शिशुसहित चारको मृत्यु

- अर्जुन शाहधनगढी

डडेलधुरामा बस दुर्घटना हुँदा एक शिशु र दुई महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस बुधबार बिहान तीन बजेतिर डडेलधुरामा दुर्घटना भएको हो । 

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि चार जनाको घटनास्थलमै मृत्यु भएको डडेलधुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । १२ जना घाइते भएका छन् । 

डडेलधुरा प्रहरीका अनुसार पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस अमरगढी नगरपालिका–७ पोखरा बजार नजिक पर्ने खस्रेखानमा दुर्घटना भएको हो । 

गम्भीर घाइते बस चालक बैतडीको पुर्चौडी–८ का २४ वर्षीय वीरेन्द्र बोहरा र ४२ वर्षीय पदमबहादुर बोहरालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई पनि रेफर गर्नु पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करीब साढे तीन सय मिटर तल खसेको छ । चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।