मुख्य समाचार

असोजको बाढीपहिरोपछि तातोपानी र रसुवागढी नाकाको व्यापार लगभग ठप्प

- केएफएम डेस्ककाठमाडौं

असोज दोस्रो साताको बाढीपहिरोले पुल तथा सडक क्षति गरेपछि नेपालको चीनसँग जोडिएको प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प जस्तै भएको छ ।

बाढीपहिरो अघि नै दसैँ र तिहारका लागि झिकाइएका व्यापारिक मालवस्तु चीनको विभिन्न सहर र बाटोका गोदाममा थन्केको छ । व्यवसायीका अनुसार स्याउ, लसुन, ओखर, किबी, आँप, ड्रागन फुटलगायतका फलफूल तथा मसलाजन्य खाद्यवस्तु कामै नलाग्ने गरी सडेका छन् ।

केरुङमा गोदाम गरिएका र कन्टेनरमा लोड गरिएको फलफूल कुहिएको गन्ध बाहिरै आउन थालेको छ । स्याउ आयातकर्ता राजेश भण्डारीका अनुसार फलफूल लोड गेरेर केरुङ भन्सार क्लियर गरेको कन्टेनरबाट पानी चुहिन थालेको छ । कोल्डस्टोरको क्षमता कम भएकाले सबै सामान अटाउने अवस्था नभएको व्यवसायीको भनाई छ ।

यता, तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार दसैँ अगावै तातोपानी सीमामा ल्याइसकिएको स्याउ लगायतका कुहिने वस्तु बोकाएरै भएपनि भन्सार यार्डसम्म ल्याउन थालिएको छ । काफ्लेका अनुसार व्यवसायीले स्याउ तथा मसलाजन्य वस्तुको बाक्सा बोकेर लिपिङ खोला पार गराउँदै आएका छन् ।