मुख्य समाचार

रास्वपा सभापति लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले आज लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

 पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री लामिछानेले कानुनलाई सघाउने प्रतिवद्धता जनाउनुभएको छ । पक्राउ पुर्जी जारी भएपछि आक्रोशीत बनेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत वर्तमान सरकारबाट सहकारी पीडितले न्याय नपाउने र त्यसको नेतृत्व आफूहरुले लिने बताउनुभएको छ । 

एमाले नेतृत्वको सरकारले व्यवसायी एवं भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले दान दिएको जग्गाको विषयलाई विषयान्तर गर्न खोजेको आरोप समेत लगाउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै लामिछानेले भ्रष्टाचारीलाई जोगाउन प्रधानमन्त्री लागिपरेको बताउनुभयो । 

विभिन्न राजनीतिक दल र उनीहरुका नेता कार्यकर्ताले सहकारी बाट ८७ अर्ब अपचलन गरेर आफूलाई सहकारी ठग बनाउन खोजेको लामिछानेको भनाई छ । सभापति लामिछानेले आफूले गल्ती नगरेको तर्क गर्द न्यायालप्रति विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।