मुख्य समाचार

रास्वपा सभापति लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी आगामी बुधवारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो ।

आजको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेलाई स्थलमार्ग हुँदै हिजो बिहान पौने ३ बजे पोखरा पु¥याइएको थियो । अदालतले गत शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । यसअघि पक्राउ परेर मुद्दा चलाइएकामध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा छन् ।