मुख्य समाचार

मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली

- केएफएम डेस्क काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताउनुभएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूको आज बालुवाटारमा बसेको बैठकमा ओलीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठकमा उहाँले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कमी नआउने बताउनुभएको थियो । उहाँले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

लोकतन्त्रका लागि लडेकाले लोकतन्त्र मात्रै स्वीकार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नरहेको उहाँले बताउनुभयो । बैठकमा सरकारको १ सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेताहरूलाई जानकारी गराउनुभएको थियो ।