मुख्य समाचार

संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गरिने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सरकारले संघीय अस्पतालमा रेडियोलोजी फिल्मको प्रयोग हटाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियालोजी फिल्मको प्रयोग हटाएर रिपोर्टलाई डिजिटल बनाउने निर्णय गर्नु भएको हो । 

यो निर्णयले वार्षिक १ अर्ब रुपैयाँ विदेशिनबाट जोगिने तथा नागरिकलाई स्वास्थ्य शुल्क समेत कम हुने स्वास्थ्य मन्त्रालयको दाबी छ । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटी स्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्नु भएको हो । 

अब मन्त्रालय मातहतका संघीय २२ वटा अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छन् । स्वास्थ्यका लागि समेत हानीकारक मानिने एक्सरे फिल्मको प्रयोगमा भईरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

यो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा समेत विस्तार गर्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हाल काठमाडौंको वीर अस्पतालले वर्षमा करीब चार करोड रुपैयाँ र कान्ति बाल अस्पतालले करीब तीन करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्दै आएको तथ्यांक छ । यो निर्णयले संघीय अस्पतालको वार्षिक करीब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।